आयुर्वेद नेपाल

आयुर्वेदको परिचय

आयुर्वेद लगभग ५००० वर्ष पुरानो चिकित्सा विज्ञानसाथै आयुर्विज्ञानको प्राचिन पद्धति हो । यो आयुको वेद अर्थात् आयुको ज्ञान हो । जुन शास्त्रद्वारा आयुको ज्ञान दिईन्छ त्यसलाई आयुर्वेद भनिन्छ । शरीर, इन्द्रिय सत्व, अनि आत्माको संयोगलाई नै आयु भनिन्छ र आधुनिक शब्दमा यसैलाई जीवन भनिन्छ अनि प्राणयुक्त शरीरलाई जीवित भनिन्छ । जुन विद्याद्वारा आयुको बारेमा सबैप्रकारको तथ्यको ज्ञान हुनसक्छ वा जसको अनुसरण गर्दै दीर्घ आशुष्यको प्राप्ती हुनसक्छ त्यो तन्त्रलाई आयुर्वेद भनिन्छ । आयुर्वेद अथर्ववेदको उपवेद हो । आयुर्वेदले मानिस जीवित रहने विधि तथा यसको पूर्णविकासको उपायको बारेमा बताउँछ यसैले आयुर्वेद अन्य चिकित्सा पद्धतिजस्तो श्द्ध चिकित्सापद्धति मात्र होइन अपितु सम्पूर्ण आयुको ज्ञान हो । आयुर्वेदमा आयुको हित (पथ्य,आहार,विहार) अहित (हानिकार आहार विहार) रोगको निदान र व्याधिहरुको चिकित्सा गरिएको छ |  हित आहार, सेवन एवं अहित आहार त्याग गर्ने हो भने मान्छे पूर्णरुपमा स्वस्थ रहन सक्छ । आयुर्वेदका अनुसार स्वस्थ्य व्यक्ति नै जीवनको चरम लक्ष्य, धर्म, अर्थ, काम, मोक्ष प्राप्ति गर्न सक्छ । पुरुषार्थ, धर्म, अर्थ, काम, मोक्ष प्राप्तीको मुख्य साधन शरीर होे अतः विषेशरुपले शरीरको रक्षा गर्नुपर्छ । आयुर्वेदको प्रसिद्ध ग्रंथ भाव प्रकाशमा भनिएको छ जुन शास्त्रद्वारा आयुको ज्ञान, हित र अहित आहार विहारको ज्ञान, रोगव्याधि निदान तथा शमनको ज्ञान प्राप्ती गरिन्छ त्यस शास्त्रलाई आयुर्वेद भनिन्छ ।

आयुर्वेदको प्रारम्भ र विकास

आयुर्वेदको इतिहास अवलोकन गर्ने हो भने यसको उत्पत्ति महर्षी देवता ब्रम्हाजीद्वारा गरिएको मानिएको छ उहाँले नै ब्रम्हसंहिताको रचना गर्नुभएको थियो । भनिन्छ कि ब्रम्हसंहितामा दशलाख श्लोक तथा एक हजार अध्याय थिए तर आधुनिककालमा यो ग्रन्थ उपलब्ध छैन । आयुर्वेदको ज्ञानको श्रोत वेदलाई मानिन्छ यद्यपी आयुर्वेदको वर्णन सबै चारै वेदमा गरिएको छ । अथर्ववेदसँग धेरै नजिक भएको कारण महर्षी सुश्रुतले उपाङ्ग र महर्षी बागभट्टले उपवेद भन्नु भएको छ । महर्षी चरकले पनि अथर्ववेदसँग धेरै नजिकका विवरणहरु मिलेका कारण आयुर्वेदलाई यसैसँग जोड्नु भएको छ । यसै सन्दर्भमा ऋग्वेदमा आयुर्वेदलाई उपवेदको संज्ञा दिएको छ । महाभारतमा पनि आयुर्वेदलाई उपवेद भनिएको छ । पुराणहरुमा पनि आयुर्वेदको वर्णन गरिएको पाइन्छ । ब्रम्हावैवर्तपुराणमा आयुर्वेदलाई पाँचौवेद भनिएको छ । वास्तवमा कुनै पनि वैदिक साहित्यमा आयुर्वेद शब्दको वर्णन पाईँदैन तर महर्षी पाणिनिद्वारा रचिएको ग्रन्थ अष्टाध्यायमा आयुर्वेद शब्द प्राप्त हुन्छ । आयुर्वेदको सम्पूर्ण वर्णन प्रमुखरुपमा चरक संहिता र सुश्रुत संहितामा गरिएको छ । काश्यप संहिता र हरीत संहितामा पनि यसको आंसिकरुपमा वर्णन गरिएको छ । अष्टाङ्ग संग्रह, अष्टाङ्ग हृदय, भाव प्रकाश, माधव निदान इत्यादी ग्रन्थको सृजना चरक र सुश्रुतलाई आधार बनाएर रचिएका हुन । समयको परिवर्तनका साथसाथै निदानात्मक र चिकित्सकीय अनुभवलाई लेखकहरुले आफ्नो–आफ्नो दृष्टिकोण र विचारको अनुकूल सम्झेर संस्कृत भाषामा लिपिबद्ध गरेको पाइन्छ ।

आयुर्वेदको उद्देश्य

दुःखी हुन चाहने संसारमा यस्तो कुनै व्यक्ति छैन । सुखको चाहना सबै व्यक्तिमा निहित हुन्छ र सुखी जीवन उत्तम स्वास्थ्यमा निर्भर हुन्छ । स्वस्थ र सुखी रहनको लागी शरीरमा कुनै विकार हुनु हुँदैन यदि भएपनि छिट्टै निदान गर्नु आवश्यक हुन्छ। आयुर्वेदको मुख्य लक्ष्य व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु एवं रोगी भएमा उसको विकारको निदान गर्नु हो ।। स्वस्थ जीवनबाट मात्रै धर्म, अर्थ, काम, मोक्ष प्राप्ती हुनेकुरा ऋषिमुनीहरुलाई थाहा थियो यसैले उनिहरुले आत्माको शुद्धिकरणका साथै शरीरको शुद्धी र स्वास्थ्यमा विषेश ध्यान दिएको पाइन्छ । आयुर्वेदको विकासको क्रम र इतिहासलाई दृष्टिपात गर्दा आदिमकालका पूर्वजहरु रोगबाट मुक्ति पाउन जुन जंगली जडीबुटी, रहन–सहन र अन्य पदार्थको रोगअनुसार आरोग्यार्थ स्विकार गरे त्यो सारा ज्ञान आफूपछिका पिंढीलाई दिएर गए । तर लिपिको अभावमा यो सारा ज्ञान श्रुती र स्मृतिमा मात्र आधारित रह्यो । कालान्तरमा यो ज्ञान एक स्थानमा एकत्रित हुँदै गयो । शरीर स्वस्थ भएन भने धर्म, कर्म, अर्थ काम र मोक्ष प्राप्ति गर्न असंभव हुन्छ भन्ने कुरा त्यस पछि स्थापना भएका गुरुकुलहरुमा सिकाउन थालियो । त्यसैले सर्वप्रथम शरीर स्वस्थ बनाई राख्नुपर्छ । अगाडि नै उल्लेख गरिएको छ कि जब लिपीको आविष्कार भएको थिएन यो ज्ञान श्रुति र स्मृतिमा मात्र जीवित थियो । लिपीको आविष्कार भएपछि पत्थर र भोजपत्रहरुमा लेखेर सुरक्षित राख्न थालियो ।

आयुर्वेदका प्रमुख ग्रन्थहरु

ग्रन्थ रचनाकार
चरक संहिता चरक
सुश्रुत संहिता सुश्रुत
अष्टाङ्ग हृदय वाग्भट्ट
वंगसेन वंगसेन
माधव निदान माधवाचार्य
भाव प्रकाश भाव मिश्र

 

यी ग्रन्थहरुको साथै वैद्य विनोद, वैद्य मनोत्सव, भैषज्य रत्नावली, वैद्य जीवन आदि ग्रन्थहरु पनि चलनमा रहेकाछन् ।

आयुर्वेद ज्ञान प्रसारणका केही तथ्यहरु :-

चरक संहिता अनुसार व्रम्हाजीले आयुर्वेदको ज्ञान दक्षप्रजापतिलाई दिनुभयो, दक्षप्रजापतिले यो ज्ञान दुवै आश्विनी कुमारलाई,अश्विनी कुमारले इन्द्रलाई, इन्द्रले भारद्वाजलाई, भारद्वाजले आत्रेय पुनर्वसुलाई, आत्रेय पुनर्वसुले अग्निवेश, जतूकर्ण, भेल, पराशर, हरीत, क्षारपाणिलाई दिनुभयो ।

 

सुश्रुत संहिता अनुसार ब्रम्हाजीले आयुर्वेदको ज्ञान दक्षप्रजापितलाई दिनुभयो । दक्षप्रजापतिले आश्विनीकुमारलाई, आश्विनिकुमारले धन्वन्तरीलाई, धन्वन्तरीले यो ज्ञान औपधेनव, वैतरण,औरभ, पौषकलावत, करवीर्य, गोपुर रक्षित र सुश्रुतलाई दिनुभयो ।

 

काश्यप संहिता अनुसार ब्रम्हाजीले आयुर्वेदको ज्ञान आश्विनिकुमारलाई दिनुभयो । आश्विनिकुमारले इन्द्रलाई, इन्द्रले यो ज्ञान कश्यप, वशिष्ठ, अत्रि, भृगुलाई दिनुभयो । यीमध्ये एक शिष्य अत्रिले आयुर्वेदको यो ज्ञान आफ्नो पुत्र र अन्य शिष्यहरुलाई दिनुभयो ।

 

सृष्टिका प्रणेता ब्रम्हाद्वारा आयुर्वेदलाई एकलाख सुत्रमा (श्लोक) बर्णन गर्नुभएको छ र यो ज्ञान दक्षप्रजापतिले ग्रहण गर्नुभयो । तत्पश्चात दक्ष प्रजापतिद्वारा यो ज्ञान सूर्यपुत्र आश्विनि कुमारबाट स्वर्गाधिपति इन्द्रलाई प्राप्तभयो । आयुर्वेदको इतिहासबाट यो प्रष्ट हुन्छ कि इन्द्रद्वारा यो ज्ञान पुनर्वसु आत्रेयलाई प्राप्त भयो । शल्यशास्त्रकोरुपमा यो ज्ञान धन्वन्तरीलाई प्राप्त भयो र स्त्री एवं बाल चिकित्साकोरुपमा यो ज्ञान इन्द्रले महर्षी कश्यपलाई दिनुभयो । उपरोक्त वर्णनबाट यो प्रष्टहुन्छ कि चिकित्साज्ञान शल्यचिकित्सा र स्त्री एवं बाल चिकित्साको रुपमा प्रख्यात भए ।

 

महात्मा बुद्धको समयमा आयुर्वेद विज्ञानले रस चिकित्सा विज्ञान र रस विद्यामा धेरै प्रगति गरेको पाइन्छ । यसैकारण बौद्धयुगलाई रसशास्त्रको स्वर्णयुग पनि भनिन्छ । रस विद्यालाई तीन भाग मा विभाजन गरिएको छ ।  1. धातु विद्या 2. रस चिकित्सा 3. क्षेम विद्या

शल्य चिकित्सामा प्रतिबन्ध

प्रचिन समयमा सम्राट अशोकले भगवान बुद्धको उपदेशबाट भ्रभावित भएर आफ्नो राज्यमा रक्तपात एवं रक्तपातसँग सम्बन्धित समस्त क्रियाकलापमाथि पूर्णतः प्रतिबन्ध लगाई दिएका थिए  । यसले गर्दा कालान्तरमा आयुर्वेदमा प्रचलित शल्यचिकित्साको अभ्यास प्रभावित भयो र अन्ततः शल्यचिकित्सा एकप्रकारले लोप हुने अवस्थामा पुग्यो । तर अर्कोतिर रसचिकित्सामा अद्भुत रुपले नै प्रगति भएको पाइन्छ । केवल रसौषधिको प्रयोगले साध्य, कष्ट साध्य र असाध्य रोगहरुको चिकित्सा विधिको खोज गरीयो ।  बौद्धयुगको सिद्ध आयुर्वेदज्ञमा भगवान बुद्धका शिष्य नागार्जुन तृतीयले रसविद्याको उत्थानको लागि धेरै योगदान दिए । भगवान बुद्धका शिष्यहरुमा लगभग आठ नागार्जुन थिए र आयुर्वेद रस चिकित्सा विज्ञानको उत्थान र सोधमा सबै नागार्जुनहरुको अमुल्य योगदान रहेको थियो ।

आयुर्वेदको मुल सिद्धान्त

आयुर्वेदलाई चिकित्सा विधिको ज्ञान एवं बैज्ञानिक दृष्टिकोण राख्दै महर्षिहरुले आयुर्वेदको मुल सिद्धान्तको यस्तो संरचना बनाएका छन् । आयुर्वेदमा मुख्यतः तीन दोषहरु हुन्छन् । यी तीनदोषहरु निम्नानुसार रहेका छन् ।

त्रिदोष

वात, पित्त र कफ

(वात (वायु), पित्त र कफ छुट्टा छुटटै हुँदा एकल दोष भनिन्छ ।)

वात (वायु) र पित्त अथवा पित्त र कफ अथवा वात(वायु) र कफ यि दुई दोष एकैसाथ हुँदाको मिश्रणलाई द्विदोष भनिन्छ ।

जब वात(वायु), पित्त र कफ यि तीनै दोष एकसाथ हुन्छन् भने त्यस्तो दोषलाई त्रिदोष या सन्निपात भनिन्छ ।

त्रिदोषका पाँच भेदहरु  : आयुर्वेदमा प्रत्येक दोषका पाँच–पाँच वटा भेदहरु निर्धारण गरिएका छन् ।

१. वात (वायु) दोषका पाँच भेदहरु यसप्रकार छन् ।

(क) समान वात

(ख) व्यान वात

(ग) उदान वात

(घ) प्राण वात

(ङ) अपान वात

(वात दोषलाई वायु दोष पनि भनिन्छ । )

२. पित्त दोषका पाँच भेदहरु यसप्रकार छन् ।

(क) पाचक पित्त

(ख) रंजक पित्त

(ग) भ्राजक पित्त

(घ) लोचक पित्त

(ङ) साधक पित्त

३. यसै प्रकार कफ दोषलाई पनि पाँचै भेदहरुमा विभाजन गरिएको छ ।

(क) श्लेष्मन कफ

(ख) स्नेहन कफ

(ग) रसन कफ

(घ) अवलम्बन कफ

(ङ) क्लेदन कफ

सप्त धातु

आयुर्वेदको मौलिक सिद्धान्तमा सप्तधातुको धेरै महत्व छ । यि धातुहरुद्वारा शरीरको धारण हुन्छ, यसैले यिनिहरुलाई धातु भनिन्छ ।

१) रस धातु

२) रक्त धातु

३) मांस धातु

४) मेद धातु

५) अस्थि धातु

६) मज्जा धातु

७) शुक्र धातु

 

आयुर्वेदका आठ अङ्गहरु

चिकित्साको दृष्टिले आयुर्वेदलाई आठ अङ्गमा वर्गिकृत गरिएको छ । यसलाई अष्टाङ्ग आयुर्वेद भनिन्छ ।

१. शल्य

२. शलाक्य

३. काय चिकित्सा

४. भूत विद्या

५. कौमार भृत्य

६. अंगद तन्त्र

७. रसायान

८. बाजीकरण

3 thoughts on “आयुर्वेद नेपाल”

    1. It is well known that no any two things in this world are same. However to understand one thing you can always take the help from other. Talking about ayurveda and allopathy; what we learn from childhood, SLC syllebus , ISC/+2 or any other studies do not account with ayurveda philosophy. Most people do not have the background of Ayurveda, in this context, the allopathic or modern techniques can be co-related with Ayurveda, actually its not comparison but its co-relation for understanding well.

Leave a Reply

Your email address will not be published. Required fields are marked *